दार्चुला घटनाबारे छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

-


     मर्दी न्युज    
     श्रावण १७ गते २०७८ मा प्रकाशित


काठमाडौँ । दार्चुला घटनाबारे छानबिन गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। १० दिन भित्र सत्य तथ्य रिपोर्ट पेस गर्न समितिलाई म्यान्डेट रहेको गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलले प्रशासनलाई जानकारी दिए ।

छानबिन समितिमा सुदूर पश्चिम प्रदेशका डिआइजी पुरुषोत्तम कँडेल, अनुसन्धान निर्देशक उद्धवराज थापा, सशस्त्र प्रहरीका सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका छन् ।

साउन १५ गते शुक्रवार दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यसैबिच नेपाली काँग्रेसले दार्चुलाको गम्भीर घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिनरदिलाउन माग गरेका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

घटनालाई भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुला प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना थप जटिल बनेको छ ।