बागलुङमा बस दुर्घटना, ११ जना घाइते

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०७८ मा प्रकाशित


गलकोट । बागलुङमा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१, सौराहमा काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नम्बरको रात्रि बस ‘ब्रेक फेल’ भई सडकको भित्तामा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस