कैलालीका चराहरुको पुस्तक प्रकाशित

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७८ मा प्रकाशित


घोडाघोडी । कैलाली जिल्लाका धेरै जसो भुभागमा गरिएको अध्ययन तथा अनुसन्धान पश्चात यहाँको चराहरुको सचित्र बिवरण सहितको पुस्तक प्रकाशित भएको छ । जस अनुसार कैलालीमा १९ परिवार तथा ८२ उप-परिवारका ४९६ प्रजातिका चराहरु पाइन्छन् ।

बिगत एक दशक देखि चराको अनुसन्धानमा लागी परेका नेपाल पंछी संरक्षण संघको सुदुर पश्चिममा रहेका बिभिन्न आयोजना हेर्ने हिरुलाल डंगौरा तथा बृहत घोडाघोडी पर्यटन बिकास बोर्डका उपाध्यक्ष दयाराम (डिआर) चौधरीको द्धारा लिखित उक्त पुस्तक हालै एक कार्यक्रम बिच बिमोचन गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदुर पश्चिम प्रदेश तथा प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यन्वयन इकाईको आर्थिक सहयोग र नेपाल पंछी संरक्षण संघ को सहकार्यमा प्रकाशन गरिएको उक्त पुस्तकमा राजलाहाँचे, राजधनेश, डंगरगिद्द, सानोखैरोगिद्द, सेतो गिद्द लगायतका विश्वमै दुर्लभ २१ प्रजातिका साथै राष्ट्रिय स्तरमा संकटापन्न अवस्थामा भएका ८१ प्रजातीका चराहरु पाईने उल्लेख गरिएको छ ।

कैलालीमा पाईने चराहरुको अवस्था, चरा मा पर्ने खतरा र संरक्षणका चुनौतीहरु समेत समावेश गरिएको पुस्तकको विमोचन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सुदुर पश्चिम प्रदेशको २ दिने समिक्षा गोष्ठी का क्रममा प्रदेशका ९ वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरु, संरक्षणको क्षेत्रमा काम गर्ने निकाय एवं तराई भुपरिधी तालका प्रतिनिधि र नेपाल पंछी संरक्षण संघका प्रतिनिधिहरुको सहभागीतामा माननीय मन्त्री मान सिंह धामीले विमोचन गर्नु भएको थियो ।

प्रकृतिको सुन्दर उपहार एवं जैविक विविधताको प्रमुख अंगको रुपमा मानिएको दुर्लभ पंछीहरु को अध्ययन एवं अवलोकनका लागि सहयोगी मानिने “कैलालीमा पाइने चराहरु र चराहरुको अवलोकन क्षेत्र” नामक पुस्तक जिल्ला भरी गरिएको अनुसन्धानको पहिलो पुस्तक रहेको छ ।

पछिल्लो समय जैविक बिबिधता, बाताबरण संरक्षण लगायतका बिषयमा अध्ययन अनुसन्धान गर्ने तथा कलम चलाउने काममा युवाहरुको जोशजाँगर बढेको देखिन्छ । खासगरी चराचुरुङ्गीको अध्ययन तथा अबलोकन तुलनात्मक रूपमा कम जोखिमयुक्त र बढी आनन्ददायी हुनाले युवा विद्यार्थीहरु, संरक्षणकर्मीहरु तथा फोटोग्राफरहरुको लगाव त्यसतर्फ बढेको देखिएको छ ।

लेखकद्वय हिरुलाल डंगौरा र दयाराम (डिआर) चौधरी

यस पुस्तकले चरा संरक्षण, अनुसन्धान र चरा अवलोकन पर्यटनलाई सहयोग पुर्याउने र युवाहरु लाई प्रेरणा र सकारात्मक उर्जा प्रदान गर्ने बिश्वास गर्न सकिन्छ । स्मरणीय छ नेपालमा हाल सम्म ८८७ प्रजातिका चराहरु पाईन्छन् ।