
लायन्स क्लब इन्टरनेसनल (३२५ बि १) द्वारा भर्खरै मात्र लायन्स नमुना उद्यमि गाउँ (मोडल भिलेज) घोषणा गरिएको कास्की जिल्लाको मादी गाउँपालिका ५, थाम लंकाछर मा व्यावसायिक दक्षता तथा रोजगारीमुलक कार्यक्रम तथा संभावना बारे आज एक अन्तर्कृयात्मक गोष्ठी सम्पन्न भएको छ ।
प्राकृतिक रूपमा सुन्दर र मनमोहक, सांस्कृतिक रूपमा धनी अनि जैविक बिबिधताका हिसाबले अनुसन्धानयोग्य साथै आवागमनको हिसाबले पोखराको नजिकै रहेको थाम लंकाछर गाउँ विभिन्न कारणवश ओझेलमा परेको छ ।

मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रतन बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लायन्स भिलेज छनोट समिति, कास्कीका संयोजक लायन टीकाराम सापकोटाले गाउँलेहरुका चाहना, आबश्यकता र संभावनाहरुको अध्ययन नगरीकन कार्ययोजना बनाउन नसकिने भन्दै अन्तर्कृया कार्यक्रमको निचोड पछी विभिन्न बिषयका बिज्ञहरु संग राय लिएर गाउँलाई आबस्यक सहयोग पुर्याउने बताउनुभयो ।

प्रारम्भिक चरणको अध्ययन अनुसार नगदेबाली, फलफूल तथा पशुपालन बाट रोजगारीको सृजनाहुने र स्थानीय प्रांगारिक उत्पादनलाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित घरवास पर्यटन (होमस्टे) संग जोडेर दीगो रोजगारीको अबसर र समान आर्थिक पँहुच बनाउन सकिने समेत उहाँले जोड्नुभयो । छिट्टैनै मोडल भिलेज तथा लायन्स क्लब बीच संझौता पत्रमा हस्ताक्षर गरिनेपनि उहाँले बताउनुभयो ।
लामो समय महिला, बालबालिकाको शिक्षा र स्वास्थको क्षेत्रमा काम गर्दै आउनुभएका समाजसेवी, नमस्ते कम्युनिटी फाउन्डेसनका अध्यक्ष तथा लायन्स क्लबका क्लस्टर चिफ लायन भीष्म राज पौडेलले लायन्स मोडल भिलेजको रूपमा चयनहुनु एउटा गौरवको बिषय भएकोले गाउँ लाई बधाई दिदै उचित अबसरको रूपमा लिन र स्मरणयोग्य काम गर्न सुझाव दिनुका साथै आफ्नो तर्फबाट यथासक्य सहयोग गर्ने बताउनुभयो ।
लायन्स मोडल भिलेजको मान्यता तथा अबधारणालाई कार्यान्वयन गर्न खेम बहादुर गुरुङको अध्यक्षतामा स्थानीय समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्ष टिकाश्री गुरुङ, सचिव तुलजंङ्ग गुरुङ, कोषाध्यक्ष देबेन्द्र गुरुङ, सहसचिव सन्तोष गुरुङ, सह-कोषाध्यक्ष एक बहादुर गुरुङ, सदस्य युबराज गुरुङ, सदस्य प्रदीप गुरुङ, सदस्य दुर्गादेबि गुरुङ, सदस्य बिजय बि.क, सदस्य रुम बहादुर गुरुङ, सदस्य मोहन गुरुङ, सदस्य अन्जिता गुरुङ चयन हुनुभएको छ भने सल्लाहकारमा चोक गुरुङ, माया गुरुङ, उत्तर बहादुर गुरुङ, तेज बहादुर गुरुङ, सुबेदार याम प्रसाद गुरुङ, सुबेदार पुन बहादुर गुरुङ हुनुहुन्छ । अन्तर्कृया कार्यक्रममा उपस्थित गाउँवासीहरुले आफ्ना कुराहरु पनि खुलस्त राखेका थिए ।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले घरवास (होमस्टे) पर्यटनका बिबिध आयाम र आफ्नो अनुभव सहितको छोटो प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा लायन चोक गुरुङले स्वागत मन्तव्य र युवा पर्यटन ब्यबसायी जीवनराज सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।