
सन थापा,
जापान, २२ साउन । जापानमा कोरोना संक्रमितको कुल संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १० लाख दुई हजार ८ सय पाँच पुगेको छ । ८ लाख ६५ हजार ४ सय ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । चीनको वुहानबाट फर्किएका ३० वर्षीय व्यक्तिलाई गत वर्ष जनवरी १६ मा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना महामारी सुरु भई चौथो लहर चलिरहदा यसवर्षको अप्रिल ९ मा संक्रमितको संख्या ५ लाख पुगेको थियो । त्यस यता चार महिनाको अवधिमा थप ५ लाख संक्रमित थपिए । जून महिनाबाट डेल्टा भेरियन्ट देखा परेपछि पाचौं लहरमा टोकियो र छिमेकी प्रान्तमा संक्रमित हवात्तै बढेको छ ।
२४ घण्टामा १५ हजार बढी थपिए
शुक्रबार १५ हजार ६ सय ४५ जना कोरोना संक्रमित भए भने २० जनाको मृत्यु भएको छ । पाँच प्रान्तमा १ हजार भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ हजार ५ सय १५, खानागावामा २ हजार ८२, ओसाकामा १ हजार सय १०, साईतामामा १ हजार २ सय २०, चिबामा १ हजार ५७, फुकुओकामा ८ सय ४०, ओकिनावामा ५ सय ६५, ह्योगोमा ४ सय ७७, आईचीमा ३ सय ८७, क्योतोमा २ सय ८९, होक्काईदो र इबाराकीमा २ सय ८३-८३, सिजुओकामा २ सय २४ र तोचिगीमा १ सय ३८, कुमामोतोमा १ सय २८, मियागी प्रान्तमा १ सय २६, गुन्मामा १ सय २०, हिरोसीमा १ सय छ, नारा र ओकायामा प्रान्तमा १ सय १-१ जना संक्रमित थपिए ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार २ सय ७४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये १ हजार २० जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख २ हजार ५ सय ५१ जनाको उपचार भइरहेको छ । बुधबार ६७ हजार ६ सय ७५ जनाको पिसीआर परीक्षण गरिएको थियो ।