जापानको प्रधानमन्त्रीमा किशिदा दोस्रोपटक निर्वाचित

-


     सन थापा    
     २४ कार्तिक २०७८ मा प्रकाशित


जापान, २४ कात्तिक । फुमियो किशिदा जापानको प्रधानमन्त्रीको रूपमा दोस्रो पटक निर्वाचित भएका छन् ।

बुधबार संसदको २०६ औं विशेष अधिवेशनबाट बहुमत प्राप्त गरेपछि ६४ वर्षीय किशिदा १०१औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनले ४ सय ६५ सदस्य रहेको तल्लो सदन (डायट) मा २ सय ९२ मत र उपल्लो सदनबाट १ सय ४१ मत प्राप्त गरे ।

यसअघि उनी अक्टोबर ४ संसदको तल्लो र माथिल्लो सदनबाट बहुमत प्राप्त गरी १०० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले तल्लो सदनमा ३ सय ११ मत र माथिल्लो सदनमा १ सय ४१ मत प्राप्त गरेका थिए । अक्टोबर ३१ मा सम्पन्न आमनिर्वाचनमा उनको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले एक्कल बहुमत २ सय ६२ सीट जितेको थियो ।


यसैबिच प्रधानमन्त्री किशिदाले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना महामारीका कारण मुलुकले सामना गरिरहेको अर्थतन्त्र र चिकित्सा प्रणालीलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।