लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै

-


     मर्दी न्युज    
     २७ कार्तिक २०७८ मा प्रकाशित


फाइल तस्वीर

लमजुङ। जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक क्लवले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । वर्षेनि यहाँ उक्त प्रतियोगिता हुँदै आए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको र यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, “खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।

फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले सो प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । यस्ता प्रतियोगिताबाट वर्षेनि राम्रा राम्रा खेलाडी उत्पादन हुँदै आएका र यस वर्षसमेत राम्रो फुटबल खेलाडी उत्पादन हुने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रथम हुने टोलीलाई रू पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई रू तीन लाखसहित अन्य पुरस्कार दिइने क्लबका अध्यक्ष गुरुङले बताए ।

त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई रू ५०÷५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगिताको क्वार्टर फाइनलभन्दा माथिमा खेलहरुमा ‘म्याच अफ दी म्याच’ घोषणा गरेर ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । रासस