नेपाल पंछी संरक्षण संघको अध्यक्षमा प्रो. शाह सर्वसम्मत

-


     मर्दी न्युज    
     २७ कार्तिक २०७८ मा प्रकाशित


काठमाण्डौं । नेपाल पंछी संरक्षण संघको ३९ औं वार्षिक साधारण सभावाट प्रोफेसर करन बहादुर शाह सर्वसम्मत अध्यक्ष पदमा चुनिएका छन् ।

त्यसैगरि उपाध्यक्षमा विमल कुमार थापा, महासचिवमा अशोक बहादुर मल्ल, सहसचिवमा सरिता ज्ञवाली र कोषाध्यक्षमा राजकुमार राई सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा डा. प्रेम बुढा, रमेश चौधरी, सुर्दशन कार्की, जयनाथ भण्डारी, दिपक श्रेष्ठ, अनिता गुरुङ चयन भएका छन् ।

संस्थाका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका कार्यकारी निर्देशक डा. रामचन्द्र कँडेल हुनुहुन्थ्यो । कार्यक्रममा संरक्षकहरुको तर्फवाट चुङ्बा शेर्पा, सल्लाहकारहरुको तर्फवाट श्यामसुन्दर बजिमय र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्रमुख डा. तेजकुमार थापाले शुभकामना मन्तब्य दिएका थिए ।

साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष स्वर्गिय हरिशरण नेपाली काजी दाइ को स्मृतिमा रु पचास हजार राशीको शोध अनुसन्धान गर्ने त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागवाट छनौटमा परेका विद्यार्थीलाई अनुसन्धान पुरस्कार दिने संस्थाका अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए ।

सभामा नेपाल पंछी संरक्षण सञ्जालमा आबद्ध बर्ड एजुकेशन सोसाईटी, चितवन तथा नेचर गाइड एशोसिएसन, शुक्लाफाँटाले रु एक लाख राशीको संरक्षण पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरि रु तिस हजार राशीको जटायु पुरस्कार निशान बराल र सृष्टि न्यौपानेले पाएका थिए भने रु पचास हजार राशीको पंछी अनुुसन्धान पुरस्कार इश्वर जोशी र विवेक बेलवासेले पाएका थिए । पंछी अनुसन्धान पुरस्कार संरक्षक चुङ्बा शेर्पावाट स्पोन्सर गरेका थिए ।

संस्थाका उपाध्यक्ष प्रो. करन बहादुर शाहले स्वागत मन्तब्य दिएको सभामा संस्थाका कार्यकारी निर्देशक इशाना थापाले नेपाल पंछी संरक्षण संघको चार दशक लामो यात्राका बारेमा प्रस्तुती पेश गरेकी थिइन भने पोलिसी एण्ड एड्भोकेसी अफिसर कृति नेपालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।