विप्लव समूहले गरेको बन्दले यात्रुलाई सास्ती

-


     मर्दी न्युज    
     ३० कार्तिक २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मूल्यवृद्धिको विरोधमा नेपाल बन्द गरेको छ । नेपाल बन्दका कारण यात्रुहरूले सास्ती पाएका छन् ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कम मात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरूले सास्ती पाएका हुन् ।

विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौँ उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका छन् ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् ।