
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगुको सदरमुकाम गमगढीमा लागेको आगलागीबारे अनुगमन गर्न मुगु गएका छन्।
मुख्यमन्त्री शाही राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार बिहान मुगु गएका हुन् ।
काठमाडौँबाट टेन्ट, लत्ताकपडा र भाँडा लगिएको छ भने, सुर्खेतबाट खाद्यान्न र रेडक्रसको तत्कालीन सामग्रीहरू लगिएको छ।
मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।
मङ्गलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताए । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो ।