
पोखरा । गाउँ पर्यटन प्रबर्द्धन मञ्च-नेपाल (भिटोफ) गण्डकी प्रदेशको सातौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज लायन्स नमुना उधमी गाउँ मादी गाउँपालिका-५, थाम ल्हाम्जा मा सम्पन्न भएको छ । सभाले उदय सुवेदीको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी २ वर्षको लागि सर्वसम्मत निर्वाचित गरेको छ ।
सर्वसम्मत नेतृत्व चयनद्वारा गरिएको अधिबेशनमा अध्यक्षमा उदय सुवेदी, उपाध्यक्षमा शोभा कुमारी अधिकारी, सचिवमा शुसिला भण्डारी, कोषाध्यक्षमा कृष्ण भारती, सदस्यहरुमा शिब राज त्रिपाठी, विश्व क्षेत्री, रमेश अर्याल, मेघ मान श्रेष्ठ र चिन्तामणी पोख्रेल सहितको ९ सदस्यीय तथा निवर्तमान अध्यक्ष नवराज सुवेदी र एक मनोनयन गर्ने गरि ११ सदस्यीय कार्यसमितिको गठन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि १ का गभर्नर लायन बिश्शेश्वर आचार्यज्यु को हातबाट ६ जना स्थानीय कृषकहरु लाई माहुरी सहितको घार हस्तान्तरण गरि उदघाटन गरिएको थियो ।
ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका बिषयहरु लाई थप उजागर गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रबर्द्धन गर्ने उदेश्यले बि. सं. २०५४ सालमा स्थापित भिटोफ-नेपालको अधिवेशनको अबसरमा दुईजना पत्रकारहरु लाई नगद एघार हजार एकसय एघार, दोसल्ला तथा सम्मान-पत्र द्वारा सम्मानित गरिएको थियो । सम्मानित हुनुहुने पत्रकारहरुमा नेपाल टेलिभिजनका पर्शुराम आचार्य शर्मा र पोखरा टेलिभिजनका पुष्प दाहाल हुनुहुन्थ्यो । गाउँ पर्यटन सदभावना दुतको रूपमा सम्मानित पत्रकार अमृत भादगाउँले लाई नगद बीस हजार दुई सय एघार रुपैयाँ, दोसल्ला र सम्मान-पत्र प्रदान गरिएको थियो । थाम र ल्हाम्जाका विभिन्न होमस्टे हरुलाई नम्बर स्टिकर प्रदान गरिएको थियो ।
शुभकामना दिनुहुने बक्ताहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, गाउँ पर्यटन प्रबर्द्धन मञ्चका केन्द्रिय अध्यक्ष ध्रुव सिंखडा, सल्लाहकार प्रा.डा. प्रेम शर्मा, लायन्स मोडेल भिलेज कास्की का प्रमुख तथा भिटोफ-नेपाल, गण्डकी प्रदेशका सल्लाहकार लायन टिकाराम सापकोटा हुनुहुन्थ्यो र सबै बक्ताहरुको जोड दिगो पर्यटन बिकासमा थियो ।
