दलको राजनीति गर्ने भए महासंघ छोड: पत्रकार महासंघ

-


     मर्दी न्युज    
     ५ मंसिर २०७८ मा प्रकाशित


काठमाडौं । नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

महासचिव रोसन पुरीले आइतबार एक विज्ञप्ति जारी गरी भनेका छन्- ‘…महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ ।’

‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने’ व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।