नेपाल पंछी संरक्षण संजालको ५ औं राष्ट्रिय कार्यशाला गोष्ठी सुरु

-


     मर्दी न्युज    
     ८ मंसिर २०७८ मा प्रकाशित


सुनसरी । नेपाल पंछी संरक्षण संजालको ५औं राष्ट्रिय कार्यशाला गोष्ठी आज शुरु भएको छ । सुनसरी जिल्ला स्थित कोशि टप्पु राष्ट्रिय बन्यजन्तु आरक्ष भित्र रहेको अक्वा बर्ड रिसोर्टमा सुरुभएको कार्यक्रमको आयोजना नेपाल पंछी संरक्षण संघले गरेको हो भने विशेष सहयोग स्थानीय कोशी पंछी समाजले गरेको हो ।

दुई दिन सम्म चल्ने कार्यक्रमको प्रमुख अतिथि कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले बिरुवामा पानी हालेर उद्घाटन गर्नुभएको थियो । नेपाल पंछी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराको लागि महत्त्वपूर्ण क्षेत्रहरु (IBAs),आगामी कार्यक्रमहरु तथा प्रजातीहरु संरक्षणमा चालिएको विभिन्न कदमका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा कोशी टप्पु बन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडा, मध्यवर्ती क्षेत्र ब्यबस्थापन अध्यक्ष बिरेन्द्र यादव, कोशी टप्पु नेचर गाइड एसोसिएसनका अध्यक्ष कुर्वान मन्सुरी लगायत हुनुहुन्थ्यो भने सबैको जोड प्रजाती र जैविक बिबिधता संरक्षण, आरक्षको दिगो ब्यबस्थापन र मानव बन्यजन्तु द्वन्दको उचित सम्बोधन बारेमा थियोे ।

कार्यक्रमका प्रमुख अतिथि अन्सारीले कार्यक्रम सफलताको कामना जनप्रतिनिधिको हैसियतले भोग्नुपरेका चुनौतीहरुका बारेमा बोल्नुभएको थियो । आरक्षबाट स्थानीय जनताले केहिपनि फाइदा नपाएको बरु जनावरको आक्रमणको कारण धेरै बच्चाहरु टुहुरो हुनपुगेको र धेरै महिला बिधवा हुनुपरेको तितो यथार्थ बताउनुभयो। भारत संगको विभिन्न संझौताको कारण उस्ले चाहेमा सयौं ट्रक र एक्साभेटर बिना अवरोध आरक्ष भित्र प्रवेश गर्न सक्ने र जतिपनी रुख काट्न सक्ने तर स्थानीयले एउटा सुकेको हाँगो बोकेर निस्कदा आर्मीले पक्राउ गर्ने सुनाए ।

कोशी पंछी समाजका अध्यक्ष संजिब आचार्यको सभापतित्वमा सम्पन्न पहिलो सत्रको कार्यक्रम कोशी पंछी समाजका कानुनी सल्लाहकार कृष्ण भट्टराईले संचालन गरेका थिए भने स्वागत मन्तव्य कोशी पंछी समाजका सल्लाहकार लोक बहादुर बुढाथोकीले राखेका थिए ।

देशभरका स्थानीय संरक्षणकर्मी समुह-संस्थाहरुको उपस्थिति रहेको दोस्रो सत्रमा विभिन्न बिज्ञहरुको प्रस्तुति, प्राबिधिक सत्र, छलफल, स्थलगत अध्ययन सहित भोलि मंसिर ९ गते समापन हुनेछ ।

तस्बिरहरु: राजन चौधरी र शेष कान्त शर्मा