
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक सकिएको छ । बैठकले सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको बैठकले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको हो ।
त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना प्रकाशन लगायतका आवश्यक तयारी गर्ने निर्णय आजको बैठकले गरेको हो । न्यायाधीशहरूले यस विषयमा सर्वोच्च प्रशासनका कर्मचारीहरूसँग समेत छलफल गरेका थिए ।
पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रुपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने छन् ।
छलफलमा सहभागी एक न्यायाधीशका अनुसार सर्वोच्चको फुलकोर्ट भोलि दिउँसो २ बजे पनि बस्ने भएको छ ।