देवराज चालिसेले कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा

-


     मर्दी न्युज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित


पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापति पदमा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन्। आज बुधबार आफू समर्थक कार्यकर्तामाझ उनले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

संस्थापन इतर समूहबाट उनले सभापति पदमा उम्मेदवार घोषणा गरेको बताए। ‘विगतका गल्तीबाट पाठ सिक्दै कांग्रेस पार्टीलाई समयानुकूल बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने। प्रदेश, महाधिवेशन र क्षेत्रीय प्रतिनिधि चुनिइसकेपछि उनले उम्मेदवारी घोषणा गरेका हुन्। यद्यपि, क्षेत्रीय समितिहरुको परिणाम आज साँझसम्ममा आउने निर्वाचन समितिले जनाएको छ।

साथै जिल्ला अधिवेशन पनि यही १० गते हुने कांग्रेसको महाधिवेशन कार्यतालिका छ। जसका लागि भोलि मनोनयन दर्ता हुनेछ। प्रदेश अधिवेशन भने यही १६ र १७ गते हुने तालिका छ। चालिसेसहित पार्टीको प्रदेश सभापति पदमा कास्कीका पूर्व सभापतिद्वय शुक्रराज शर्मा र यज्ञबहादुर थापाले पनि आकांक्षा देखाएका छन्। यद्यपि उनीहरुले घोषणा भने गरिसकेका छैनन्।
यस्तै प्रदेश सभापति पदमा गोरखाका सुरेन्द्र पाण्डे र पर्वतका अर्जुन जोशी पनि चर्चामा छन्।

पहिलो पटक संघीय संरचनामा जान लागेको नेपाली कांग्रेस गण्डकीको संस्थापक सभापति हुन पुराना नेता शर्मा र पूर्वमन्त्री समेत रहेका थापाले आफू निकटहरुमार्फत लविङ शुरु गरेका छन्। तर उम्मेदवारी सार्वजनिक भने भइसकेको छैन।

त्रिभुवन विश्वविद्यालय स्ववियुका पुर्व सभापति समेत रहिसकेका चालिसे नेपाली काँग्रेसमा बौद्धिक नेताको रुपमा परिचित छन्। प्रदेश सभापतिमा उम्मेदवारी घोषणासँगै उनले आफुसँग निर्वाचनमा लड्ने जो कोहीसँग पनि सौहार्दपुर्ण प्रतिष्पर्धा हुने बताए।

‘कांग्रेस पार्टीको नेतृत्वलाई शासक नभई उत्प्रेरकको रुपमा विकास गर्न मेरो उम्मेदवारी हो,’ उनले भने। उनले आगामी स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसलाई पहिलो बनाउने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता भएकोले पनि आफ्नो उम्मेदवारी अपरिहार्य भएको बताए।

यता मंसिर १० गते हुने जिल्ला अधिवेशनमा कास्की जिल्लाको लागि सिरोजविजय कोइराला र भानु ढकालले जिल्ला सचिव, सुदीप गौतम र विश्वशंकर पालिखेले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।