
चितवन । नेकपा एमालेको शुक्रवार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित अन्य पदमा संख्या थपेर सर्वसम्मत नेतृत्व चयन गर्ने भएको छ ।
पार्टीको बिधान भन्दा फरक व्यवस्था गर्नु पर्ने भएकाले केन्द्रीय कमिटीले गरेको निर्णय बन्द सत्रमा प्रस्ताव लगेर अनुमोदन गर्ने तयारी रहेको छ । केन्द्रीय कमिटिले गरेको निर्णय राती १२:३० बजे सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले पदाधिकारी संख्या थपले सर्वसम्मत हुने सम्भावना बढेको बताएका छन् ।
बैठकले केन्द्रीय सदस्य र पदाधिकारीमा सदस्यको संख्या थप्ने निर्णय गरेको छ । जसनुसार अब एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । यस्तै पोलिट्ब्युरोमा ९९, स्थायी कमिटी ४५, पदाधिकारी (सचिवालय) १९, अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिवमा ७ जना रहने छन् ।
अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगलाई २५ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ ।
एमालेको १०औँ महाधिवेशन चितवनमा जारी छ ।