ओली र रावलबीच अध्यक्षमा प्रतिस्पर्धा, मतदान आजै

-


     मर्दी न्युज    
     १३ मंसिर २०७८ मा प्रकाशित


चितवन । नेकपा एमालेको भावी अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष ओलीले पटक पटक आग्रह गरेपनि रावलले आफू धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी दिने घोषणा गरेका थिए ।

निर्वाचन प्रक्रिया आज विहानका लागि स्थगित गरिएपछि डा. भीम रावलले हिजो दर्ता गर्न नपाएको मनोनयन पत्र आज दर्ता गराउँदैछन । मतदान प्रक्रिया आजै विहान ९ बजेबाट सुरु हुँदैछ ।

यसअघि केपी ओलीले आज बिहान साढे ३ बजे पदाधिकारीको नामावली घोषणा गरेका छन । जसमा भीम रावल र घनश्याम भुसाल अटाउन सकेनन् ।

ओलीले घोषणा गरेको पदाधिकारीको नामावलीमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन्।

सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन्।

ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ। यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गरेका थिए।