माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

-


     मर्दी न्युज    
     १३ मंसिर २०७८ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले बताएकी हुन् ।

विशेष गरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए ।

उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए ।

नेता पुन गत असोज १३ गते उपचारका लागि बैंकक गएको थियो । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।