आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू

-


     मर्दी न्युज    
     मंसिर १५ गते २०७८ मा प्रकाशित


काठमाडौँ, १५ मङ्सिर । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली आजदेखि कार्यान्वयनमा आउन लागेको हो ।

नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरिरहेका छन् ।

सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ । ‘अटोमेसन’मा नजाँदासम्म गोला प्रणालीबाट पेसी व्यवस्थापन हुनेछ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।