पोखरा पर्यटन परिषदको २१औं वार्षिक साधारणसभा सम्पन

-


     मर्दी न्युज    
     १७ मंसिर २०७८ मा प्रकाशित


पोखरा । पर्यटन ब्यबसायिहरुको छाता संगठन पोखरा पर्यटन परिषदको २१औं बार्षिक साधारणसभा आज लेकसाइडस्थित होटल माउन्ट कैलाश रिसोर्टमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेमबहादुर आलेले आफ्नो भनाइ राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने अनियमितता रोक्न आफू लागिपरेको बताउनुभयो। नेपाल एयरलाइन्सलाई टाट पल्टाउने र निजी एयरलाइन्स पोस्नेहरुलाई छानबिन र कारबाही गरिने पनि उहाँले जोड्नु भयो। पोखराको अन्तर्राष्ट्रिय बिमानस्थल तोकिएको समयमै संचालन हुने र निर्माणका दौरान बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुहुदै पोखरा पर्यटन परिषदले निमन्त्रणा गरेकोमा धन्यवाद दिनुभयो।

शुभकामना मन्तव्य दिनुहुने अन्य बक्ताहरुमा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन , बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्मा कंडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायत हुनुहुन्थ्यो। पोखरा पर्यटन परिषदलाई विभिन्न समयमा महत्त्वपूर्ण सहयोग तथा योगदान पुर्याएका अमेरिकाको जर्जिया बस्ने दिपक पहारी र श्रीराम गिरिलाई सम्मान गरिएको थियो।

कोषाध्यक्ष कृष्णप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन तथा महासचिव रामचन्द्र शर्माले महासचिवको प्रतिवेदन पेश गरेको कार्यक्रमको सभापतित्व पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले गर्नुभएको थियो।