
पोखरा । नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । खसेको ११४६ मतमा शर्माले निकटतम प्रतिस्पर्धी अर्जुन जोशीलाई ८४ मतको अन्तर पारेका छन् ।
आइतबार बिहान सम्पन्न मतगणना अनुसार शर्माले ६१२ मत प्राप्त गर्दा जोशीले ५२८ मत पाए । यस्तै उपसभापतिमा शर्मा प्यानलकी कल्पना तिवारी र जोशी प्यानलका मेखलाल श्रेष्ठ निर्वाचित भएका छन् । तिवारीले ६२४ मत र श्रेष्ठले ५५६ मत ल्याएर विजयी भएका हुन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका हरिप्रसाद श्रेष्ठले ५४८ र नेत्रबहादु महतले ४५६ मत प्राप्त गरे ।
यस्तै महामन्त्रीमा शर्मा प्यानलका किरणबाबु श्रेष्ठले ५७३, विष्णु लामिछानेले ५६४ मत ल्याएर विजयी भए । जोशी प्यानलका कुमार खड्काले ५५६ मत र ईश्वर पाण्डेले ४७३ प्राप्त गरे । कुमार खड्का गण्डकी प्रदेश भौतिक पूर्वधार मन्त्री एवम प्रदेश सरकारका प्रवक्ता समेत हुन ।
सहमहामन्त्रीमा शर्मा प्यानलका रमेशकुमार पाण्डेले ६०५ मत र ५७० मत ल्याएर रामचन्द्र जोशी विजयी भएका छन् । सहमहामन्त्रीका प्रत्यासी जोशी प्यानलका राजनराज पन्तले ४६१ र झुलबहादुर आलेले ४८८ मत प्राप्त गरे । प्यानल बाहिरबाट उम्मेद्वारी दिएका युवराज बास्ताकोटीले ९२ मत प्राप्त गरे ।
यस्तै सहमहामन्त्री महिलातर्फ शर्मा प्यानलकी कोपिला रानाभाट बिजयी भएकी छन् । उनले ५९२ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी जोशी प्यानलमा रहेकी ओमकला गौतमले ५१४ मत प्राप्त गरिन् ।
कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन शनिबार पोखरा प्रर्दशनी केन्द्रमा भएको थियो ।
गण्डकी प्रदेशमा देउवा समूह र पौडेल समूहले प्यानलसहितको सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा रहेको थियो ।
यहाँ शर्मा रामचन्द्र पौडेल पक्षका हुन् भने जोशी शेरबहादुर देउवा पक्षका । अधिकांश पद पौडेल पक्षले कब्जा गरेपनि केही पदमा देउवा पक्षका उम्मेद्वारले जितेका छन ।