
पोखरा । पोखरा लेकसाइड निवासी रामबहादुर लामिछानेले कास्की भलिबल संघलाई भलिबल सामग्री हस्तान्तरण गरेका छन् ।
२०५८ सालमा पोखरा–६ मा दृष्टि युवा क्लब स्थापन गरी त्यसको संस्थापक अध्यक्ष समेत रहेका लामिछानेले कास्की भलिबल संघका सदस्यद्वय बुद्ध सिंह र मनशान्त घिमिरेलाई भलिबल सामग्री हस्तान्तरण गरेका हुन् ।
खेल सामग्री हस्तान्तरण कार्यक्रममा लामिछानेले आफू पनि भलिबल खेललाई माया गर्ने व्यक्ति भएकाले कास्की जिल्ला तथा गण्डकी प्रदेशलाई भलिबलमा राम्रो बनाउन आफ्नो साथ सहयोग सदा रहने बताए । भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जोकोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आप्mनो दृष्टि युवा क्लबलाई पुन सञ्चालनमा ल्याउने बताए ।
विगत सम्झदै खेल खेल्न घरबाट ढाँटेर निस्कनुपर्ने अवस्थाबारे चर्चा गर्दै उनले अहिले घरपरिवारबाट पनि साथ सहयोग मिल्ने हुँदा राष्ट्र तथा आफूलाई खेलबाट चिनाउने अवसर अहिलेका खेलाडीहरुले पाएको हुँदा खेलमा दत्तचित भएर लाग्नुपर्ने बताए ।
भलिबल हस्तान्तरण कार्यक्रममा पूर्व भारतीय सैनिक विष्णु श्रेष्ठले खेलाडीहरुलाई खेल सिकाइलाई सही सदुपयोग गर्न आग्रह गरे ।
जिल्ला भलिबल संघ कास्कीका बुद्ध सिंहले रामबहादुर लामिछानेको सहयोगले भलिबलप्रेमीमा उत्साह थपेको बताए । उनले शिक्षासँगै भलिबल खेललाई दैनिक जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
बुद्ध सिंहले पोखरा महानगर खेलकुद विकास समिति र जिल्ला भलिबल संघ कास्कीको संयुक्त आयोजनामा आगामी पुस ७ गतेदेखि कास्की जिल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल खेल प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५५५, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै तृतीय हुनेले ३३ हजार ३३३ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विभिन्न ६ विधामा खेलाडीले ५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए ।
लामिछानेले ५ थान भलिबल हस्तान्तरण गरेका थिए । लामो समय जापानमा बसोबास गरेका उनी राष्ट्रिय भूमि अधिकार मञ्चका तत्कालिन अध्यक्ष पनि हुन् ।
