
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।
आज बिहान उनको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन् । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।
पौडेल समूह पनि बैठक बस्दै
यता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार तय गर्न बैठक बस्दैछ ।
मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरि नेताहरू छलफलमा जुट्ने भएका हुन् ।
आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ ।
पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।
काँग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।