
काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ ।
रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ ।
भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रावत सवार हेलिकोप्टर बुधवार दिउँसो निलगिरीमा दुर्घटनाग्रस्त भएको थियो । यसअघि उनी भारतीय स्थल सेनाध्यक्ष रहेका थिए ।
उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए ।
दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको स्थाल सेनाध्यक्ष हुँदा विसं २०७३ चैत १६ गते नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी दिएकी थिइन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले रावतलाई सन् २०२० जनवरीमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनाएका थिए। उनले भारतीय सेनालगायत अन्य सुरक्षा फौजको नेतृत्व गर्दै आएका थिए।