
पोखरा । नेपाल पर्वतारोहण संघको आयोजनामा संघकै मातहतमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बिबिध कार्यक्रम गरेर १८औं अन्तर्राष्ट्रिय पर्वतीय दिवस सम्पन्न भएको छ।
उक्त अबसरमा अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलयमा मिडियाको भुमिका शिर्षकमा मिडिया टक सो कार्यक्रम भएको थियो । मिडिया टक सो को मोडरेटर कान्तिपुर राष्ट्रिय दैनिकका सह सम्पादक दिपक परियार रहेको कार्यक्रममा प्यानल डिस्कसनमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका ब्युरो प्रमुख केशवशरण लामिछाने, एभरेस्ट आवाजका सम्पादक तथा ने.प.म. कास्कीका पुर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल टेलिभिजनका संबाददाता परशुराम शर्मा, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ रहेका थिए ।
हिमाल, पर्वतारोहण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पर्यटनमा पुर्याएको योगदान बिषयको सेरोफेरोमा रहेर माध्यमिक बिद्यालय स्तरीय बक्तृत्व प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा एसओयस हर्मन माइनर विद्यालयकी छात्रा समिक्षा अधिकारी प्रथम, छोरेपाटन माध्यमिक विद्यायलयकी छात्रा गायत्री गौतम द्वितीय र मदरल्याण्ड माध्यमिक विद्यायलयकी छात्रा शुष्मा आचार्य तृतीय भएका थिए । विद्यार्थीहरु लाई क्रमशः पन्ध्र हजार, दस हजार र पाँच हजार रुपैयाँँको नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा डा. रामचन्द्र शर्मा, डा. रामजी शर्मा, नविन पोख्रेल र टिकाराम गुरुङ रहेका थिए ।
अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय लाई प्रबर्द्धन मा टेवापुग्ने खाले टिकटक मध्ये प्रथम द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरु लाई पुरस्कर प्रदान गर्ने कार्यक्रम लाई भने थप परिस्कृत गर्दै फेब्रुअरी ५ तारीख गर्ने बुझिएको छ।
चर्चित फोटो पत्रकार तथा हिमाल आरोही पुर्णिमा श्रेष्ठ र २५ पटक सगरमाथाको सफल आरोहण गरेर बिश्व कीर्तिमान कायम गरेका आरोही कामी रिता शेर्पा लाई सम्मानित गरिएको थियो । उहाँहरु दुबैजना मर्मस्पर्शी रूपमा अनुभव शेयरिङ्ग समेत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम बहादुर आलेले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पोखरामा पर्यटकको बसाई लम्ब्याउन सघाएको र यो अत्यन्तै सुन्दर संरचना भएको बताउनुभयो । संग्रहालयको छानो जिर्ण भएको र फेर्नुपर्ने देखिएकोले मन्त्रालयमा बजेटको स्थिति हेरेर सक्दो सहयोग दिने बचनबद्धता समेत व्यक्त गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको काम समयमै सकिने, बर्षाको पानीको निकासको उचित निकास गरि भूक्षय रोक्ने र स्थानीयहरुको जग्गा थप क्षती हुन नदिने, रिठ्ठेपानीको डाँडा काट्ने काम तुरुन्तै सुरुगर्ने, डम्पिङ साइट बिमानस्थलको नजिकै भएकोले चराहरु बाट हुनसक्ने संभावित खतरा बाट बिमानलाई जोगाउन एभियन राडार जोड्ने योजना बताउदै आफू जनताको काम गर्न मन्त्री भएकोले देश र जनतालाई घाटाहुने कुनै काम नगर्ने बताउनुभयो ।
पोखराका पर्यटन ब्यबसायी संघ संस्थाका अध्यक्षहरु, पर्यटन बिदहरु, विद्यार्थीहरु, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सभापतित्व नेपाल पर्वतारोहण संघका केन्द्रिय अध्यक्ष सन्तबिर लामाले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव कुल बहादुर गुरुङले गर्नुभएको थियो ।









फोटाहरुः मनशान्त घिमिरे