पौडेल निवासमा प्रधानमन्त्री देउवा र पौडेलबिच भेटवार्ता

-


     मर्दी न्युज    
     २६ मंसिर २०७८ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् ।

शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गरेका हुन् ।

‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति कुराकानी भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’

शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताएका थिए ।

कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताएका थिए ।