विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १६५ जना बेपत्ता

-


     मर्दी न्युज    
     २७ मंसिर २०७८ मा प्रकाशित


डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ ।

यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ ।

कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए ।

उनले भने,‘कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ ।’

श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ । भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, ‘ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्, दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन् ।’ भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ ।

भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए । उनले भने, ‘श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कस्ले खोज्ने ?’ रासस