
फोटोः सुगम ताम्राकार
किर्तीपुर । नेपालका लागि फिरन्ते प्रजातिको देवदूत मणितुण्डक हाँस पहिलो पटक काठमाण्डौ उपत्यकामा अवतरण गरेको छ । यहाँ स्थित टौदहमा यसै साता मंसिर २५ गते उक्त प्रजातिको एक पोथीको तस्विर सहित अभिलेख गरिएको छ ।
सन् १९३७ मा कञ्चनपुर जिल्लाको विलौरीमा फ्रान्क एम. बैलीले नेपालमा पहिलो पटक नमुना संकलन गरेको यस प्रजाति पंछी अबलोकनका क्रममा गत साता माइकल ग्रुनवेलले अभिलेख गरी पंछीहरुको अनलाईन अभिलेख राखिने फोरम ई-वर्डमा तस्विर सहित उक्त दिनको आफ्नो पंछीहरुको सुचिमा समावेश गरि राखेका थिए ।
कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रहरुमा प्राय अभिलेख गरिएको यस प्रजाति चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्र र पोखराको फेवातालमा सन् १९८१ देखि २०२० को विचमा विभिन्न समयमा देखिएको नेपालका दुर्लभ चराहरु नामक लेखमा उल्लेख गरिएको छ ।
प्राय गरि नेपालमा पोथीहरुको अभिलेख गरिएको यस प्रजातिको आज टौदहमै पंछीहरुको फोटो खिच्ने क्रममा फोटोग्राफर तथा पर्यटनकर्मी सुगम ताम्राकारले फोटो खिची सामाजिक सञ्जालमा चराप्रेमी साथीहरुलाई सुचनाको रुपमा राखेका थिए । आजकै दिन पर्यटनकर्मी तथा फोटोग्राफरद्धय संञ्जय था श्रेष्ठ र पेम्वा शेर्पाले समेत यस हाँसको फोटो खिचेका थिए ।
फिरन्ते प्रजातिका पंछीहरु विशेष गरि केहि दिन, एक हप्ता तथा अपबाद वाहेक धेरैमा १० दिन सम्म एकै स्थानमा भेटिने हुनाले अबका केहि दिनमा टौदहमा यस प्रजातिलाई हेर्न धेरै चराप्रेमीहरुको जमघट हुने निश्चित देखिन्छ । उसो त हिउँदे आगन्तुक पंछीहरुको उपस्थिति यस स्थानमा दिनदिनै बढीरहेको छ । मानविय गतिविधीहरुले प्राकृतिक वासस्थान चरम रुपमा मासिएको यो दहमा पंछीहरुको आगमनमा ९० प्रतिशतले घटे पनि आउने वर्षहरुमा आगन्तुक पंछीहरुको चहलपहलले दह ब्यस्त रहोस्, शुभकामना ।