
कास्की । “ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं दिगो पर्यटन, विकास प्रवर्द्धन र संरक्षण गरौं ” भन्ने नाराका साथ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले आयोजना गरेको एक दिवसीय पदयात्रा पर्यटन ब्यबसायिहरुको उत्साहजनक उपस्थिति सहित सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं १६ र १९ को समन्वयमा सोही वडाहरुकै घार्मि-कुरेचौर-ढिकिडाँडा (हरिपाउ), झुप्राङकोट-नागी बाट फर्किने बेला गर्लाङ्ग गाउँको सामुदायिक होमस्टेसम्मको यात्रागरि नयाँ गन्तव्यको पहिचान र संभावना अध्ध्यन गरि प्रबर्द्धन गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो ।

यात्रामा सहभागी ब्यबसायिहरु तथा पत्रकारहरुको टोलिलाई घार्मी लगायतका स्थानहरुमा स्थानीयबासीहरुले बाजागाजासहित भब्य स्वागत गरेका थिए । कास्की क्षेत्र नं ३ का संघीय सांसद, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री जगत बिश्वकर्मा कार्यक्रममा उपस्थित भएर सहभागीहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।
ढिकिडाँडामा भएको छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पुर्वमन्त्री विश्वकर्माले प्रदेशको समृद्धिको आधारनै पर्यटन भएकोले दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवन आचार्यले अत्यन्तै सुन्दर तर ओझेलमा परेको यस क्षेत्रमा ब्यबसायिहरु आएर पदयात्रा गरेकोमा खुसी व्यक्तगर्दै आगामी दिनमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।झुप्राङ्कोटमा भएको समापन कार्यक्रममा स्थानीय धार्मिक तथा पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्षहरुले यस पदमर्गको विभिन्न पक्ष र बिकासका लागि अहिलेसम्म भएगरेका कामहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय पर्यटन ब्यबसायिहरु र पत्रकारहरु गरि दुई सय जनाको उपस्थिति रहेको संयोजक गोपाल कृष्ण संग्रौलाले बताउनुभयो ।

हिमालको सुन्दरताको अलावा जैविक बिबिधता, हरियालीले भरिपुर्ण यस पदमार्गमा ३४ प्रजातिका चराहरु देखिएको बरिस्ठ ट्रेक लिडर तथा पोखरा पंछी संघका आजिवन सदस्य कृपाकुमार गुरुङले बताउनुभयो ।


फोटाहरूः मनशान्त घिमिरे