क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिअन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी

-


     मर्दी न्युज    
     ५ पुस २०७८ मा प्रकाशित


बीबीसी । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्।


”यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,” डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा भने।

महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल ”विश्वभर फैलिरहेको” बताए।

कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन्। युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन्। नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ।

आइतवार फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन्। ”हाल देखिए जस्तै अवस्था रहे हाम्रा अस्पतालहरूमा निकै चाप बढ्ने छ,” उनले चेतावनी दिँदै भने।

फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए। उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह गरेका छन्।

अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।