
पोखरा, ७ पुस । तमुको तीन खेगी (पुरोहित)मध्ये एक खेगी वोन् लमको पहिलो महाधिवेशन हुने भएको छ । तमु प्ये ल्हु संघ, वोन् लम केन्द्रीय समितिको आयोजनामा यही पुस ९ गते पहिलो महाधिवेशन हुन लागेको हो । महाधिवेशन फ–लि–ना क्होइबो शक्तिघाट पोखरामा हुनेछ ।
महाधिवेशनमा कास्की, लमजुङ, गोरखा र सङ्खुवासभाका वोन् लमहरुको सहभागिता रहने तमु प्ये ल्हु संघका महासचिव हर्क योज तमुले जानकारी दिए । उनका अनुसार भोलि पुस ८ गते नै वोन् लमहरु पोखरा आइपुग्नेछ ।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने वोन् लम समितिका केन्द्रीय अध्यक्ष गंगाबहादुर तमुले बताए ।
तमुको मौलिक खेगीहरुमध्ये वोन् लम दिनानुदिन लोप हुने अवस्थामा रहेको पनि उनले जानकारी दिए । पच्यु, क्ल्हेप्री र वोन् लम तमुको मौलिक खेगीहरु हुन् । वोन् लमहरु आजभोलि बौद्ध परम्परातिर आकर्षित भएकाले पनि लोप हुँदै गएको उनले बताए ।
तमुका संघसंस्थाले आफ्नो मौलिक पहिचानको लागि यसतर्फ ध्यान जानुपर्ने सुझाए । परापूर्वकालदेखि चलिआएको तमुको मौलिक पहिचान यसैमा भएकाले यसको संरक्षणमा जोडदिनुपर्ने बताउँदै यस कार्यमा तमु प्ये ल्हु संघ मात्र लागि परेको उनले जानकारी दिए ।
वोन्वादीहरुको संरक्षणमा तमु प्ये ल्हु संघ लागि परेको संघका केन्द्रीय महासचिव हर्क योज तमुले बताए । भविष्यमा वोन् लम चेला प्रशिक्षण गर्ने योजना समेत रहेको पनि उनले जानकारी दिए ।
