जैविक विविधतामा धनी चितवन

-


     मर्दी न्युज    
     ११ पुस २०७८ मा प्रकाशित


फोटोः नारायण रिजाल

चितवन । जल, जमिन र जङ्गलसँगै जैविक विविधतामा पनि चितवन धनी देखिएको छ । चार प्रजातिलाई मात्रै हेर्दा आधाभन्दा बढी यहाँ पाइने गरेको अध्ययनले देखाएको छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार चरा र माछा देशमा पाइने प्रजातिको सङ्ख्याको ६० प्रतिशतभन्दा बढी यहाँ पाइन्छ । स्तनधारी, सरिसृप र उपयचरमा पनि चितवन धनी छ । यससँगै वनस्पतिमा पनि यो जिल्ला अगाडि देखिएको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार देशभर पाइने १८५ प्रजातिका माछामध्ये १२० प्रजाति यहाँ पाइन्छन् । जुन ६५ प्रतिशत हुन आउँछ । आठ सय ८६ प्रजातिका चरा नेपालमा पाइन्छन्, जसको ६२ प्रतिशत अर्थात् ५४६ प्रजाति चितवनमा मात्रै पाइन्छ । सरिसृप र उभयचर नेपालमा १४३ प्रजाति रहेका छन् । तीमध्ये ४९ प्रजाति यहाँ पाइन्छन् ।

त्यस्तै २१२ स्तनधारी प्रजाति नेपालमा पाइनेमध्ये ७० प्रजाति चितवनमा पाइन्छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार सालको जङ्गल पनि चितवन अङ्ग्रणी छ । वनस्पतिको एकीन तथ्याङ्क नभए पनि धेरै प्रजाति यहाँ पाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “जैविक विविधतामा चितवन धनी छ ।”

निकुञ्जभित्र मात्रै ४० भन्दा बढी प्राकृतिक ताल छन् । रिउ, राप्ती र नारायणी नदी प्रणालीसँगै वन र घाँसे मैदानका विभिन्न प्रकार यहाँ रहेका छन् । निकुञ्जले परिस्थितिकीय प्रणाली, वन्यजन्तु र वनस्पतिको संरक्षण तथा व्यवस्थापन, वन्यजन्तुका लागि थलिय तथा जलिय पारिस्थितिकीय प्रणालीको संरक्षण, सुधार र व्यवस्थापन गर्दै आएको छ । जैविक विविधताको हिसाबले धनी यहाँ जैविक विविधता व्यवस्थापन र संरक्षण कार्यमा जनसहभागिता जुटाइ संरक्षण कार्यलाई दिगो बनाइएको उहाँको भनाइ छ ।

सन् १९८४ मा युनेस्कोद्वारा सूचीकृत गरिएको यस निकुञ्जमा अद्वितीय प्राकृतिक बनावट, तराई क्षेत्रको महत्वपूर्ण घाँसे मैदान र दुर्लभ वन्यजन्तुको उल्लेखनीय विविधता रहेको आचार्य बताउनुहुन्छ । निकुञ्जसँगै रहेका बीस हजारी ताल सन् २००२ मा रामसार सूचीमा सूचीकृत भएको छ । त्यसका कारण यो विश्वमा नै महत्वपूर्ण तालको सूचीमा सूचीकृत भएको उहाँ बताउनुहुन्छ ।

जलिय पारिस्थितिकीय प्रणालीमा आश्रित चराका लागि यो महत्वपूर्णस्थल मानिन्छ । सन् २००५ मा यो निकुञ्ज महत्वपूर्ण पक्षी क्षेत्रका रुपमा आइबिएबाटसमेत पहिचान भएको आचार्यले जानकारी दिनुभयो । आगन्तुक चराका लागि यो सुरक्षित मानिन्छ ।

विश्वमा बाघ पाइने देशमा यो पहिलो हो । सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जका रुपमा सूचीकृत भएको थियो । बाघको सुरक्षा, बासस्थानको व्यवस्थापन र आहारा प्रजातिको उपलब्धताको हिसाबले यो उत्कृष्ट मानिने आचार्य बताउनुहुन्छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी यो निकुञ्ज नेपालकै पहिलो संरक्षित क्षेत्र भएको बताउनुहुन्छ । विसं २०३० असोज ४ गते निकुञ्जको स्थापना भएको हो । निकुञ्जले बाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं २ लाई समेत जोडेको छ । चुरे भावर, भित्रि मधेश र तराईका भाग यसले समेट्दछ ।

सन् १८४६ देखि १९५१ सम्म यो निकुञ्ज शाही शिकार आरक्षका रुपमा संरक्षित रहेको थियो । तिवारीको भनाइमा गैँडाका लागि निकुञ्ज प्रख्यात छ । जैविक विविधताका कारण दुर्लभ वन्यजन्तुको महत्वपूर्ण बासस्थानका रुपमा चितवन परिचित रहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जले जैविक विविधता संरक्षणसँगै वन्यजन्तुको बासस्थान, संरक्षण र व्यवस्थापन, प्रजातिको संरक्षण, चोरीशिकार नियन्त्रण, अध्ययन, अनुसन्धान र अनुगमन, मध्यवर्ती क्षेत्र व्यवस्थापन, संरक्षण शिक्षा, पर्यापर्यटन व्यवस्थापनलगायतमा काम गरिरहेको तिवारी बताउनुहुन्छ ।

विविधताको धनी भएकै कारण विश्वभरबाट नेपाल आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज आउन रुचाउने गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई यही विविधताले यहाँको पर्यटन क्षेत्र धानेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चितवन आउने पर्यटक निकुञ्ज घुम्न रुचाउँछन् ।” त्यसका कारण विश्वभर निकुञ्जले चितवन चिनाएको उहाँको भनाइ छ । रासस