मर्दी न्युजका सम्पादक गुरुङसहित सात पत्रकार पुरस्कृत

-


     मर्दी न्युज    
     १४ पुस २०७८ मा प्रकाशित


पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले हरेक तमु ल्होसारको उपलक्ष्यमा वितरण गर्ने पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार यस वर्ष मर्दी न्यूजका सम्पादक खड्कजंग गुरुङ सम्मानित भएका छन् । उनीसँगै संघले अन्य ६ जना पत्रकारलाई पनि पुरस्कृत गरेका छन् ।

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो । सोही पुरस्कारबाट वरिष्ठ पत्रकार उजीर मगर पनि सम्मानित भएका छन् । दुवैले जनही २० हजार एक रुपैंया प्राप्त गरेका छन् ।

यस्तै सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट ढोरबराही एफएमकी समाचार प्रमुख ममता गुरुङ, तमु ल्होसार मूल आयोजक समिति पत्रकारिता पुरस्कारबाट गोर्खापत्र राष्ट्रिय दैनिकका फोटो पत्रकार सुजन गुरुङ, आदिकवी हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालको क्षेत्रीय प्रशारण पोखरामा कार्यरत इन्दिरा गुरुङ, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट बुद्ध दर्शन टिभी नवलपुरकी समाचार वाचिका चन्दा गुरुङ पुरस्कृत भएका छन् । पुरस्कृत सवैले जनही दस हजार एक रुपैंया प्राप्त गरेका छन् ।

यस्तै, सिआई टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट धादिङ अपडेटका सम्पादक दोलख गुरुङ पुरस्कृत भएका छन् । उनले पाँच हजार एक रुपैयाँ प्राप्त गरेका छन् ।

सो अवसरमा गुरुङ न्युज डटकमको लोकार्पण पनि गरिएको छ । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै जारी ल्हो (वर्ष) भित्र विभिन्न क्षेत्रमा प्रगति हासिल गरेका व्यक्तित्वको सफलताको यात्रालाई समेटेर गुरुङ न्युज डटकम प्रकाशन गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तमू ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले सरकारले तमु ल्होसारको दिन सार्वजनिक विदा दिनुपर्ने माग दोहो¥याए ।

‘हामी गुरुङ समुदायले यसअघि तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा पाउथ्यौं । तर, केपी ओली नेतृत्वको अघिल्लो सरकारले हामीले पाउँदै आएको उक्त विदा काटिदियो । दुःखको कुरा उक्त निर्णय सिफारिस गर्ने मन्त्री आदिवासी जनजाती नै थिए’, उनले भने, ‘मलाई विश्वास छ कि अहिलेको सरकारले यस पटक तमु ल्होसारको दिन सार्वजनिक विदा दिने छ । यदि, दिएन भने यो सरकारले विभेदलाई निरन्तर्ता दिएको ठहरिनेछ ।’