
फोटो मनशान्त घिमिरे
गण्डकी । “तपाई घुमघाम गर्ने तयारीमा हुनुहुन्छ, आउनुहोस् स्वर्ण त्रिकोण क्षेत्रको भ्रमण गरौं । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याऔँ ।” यी वाक्यांश यतिबेला गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पोखरा, लुम्बिनी र चितवनका पर्यटन क्षेत्रका सरोकारवालाले विभिन्न कार्यक्रममा गर्ने अपिलका सार सन्देश हुन् ।
लामो समयसम्म कोरानाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड गण्डकीको पहलमा तीनै प्रदेशका क्रमशः पोखरा, चितवन र लुम्बिनी समेटेर पर्यटकीय गन्तव्यका रुपमा यिनीहरूलाई “स्वर्ण त्रिकोण” अवधारणाका साथ अघि बढाउन खोजिएको छ ।
एकै साथ हिमाल, पहाड र तराईका दृश्यलाई नजिकैबाटै नियाल्ने गन्तव्यका रुपमा स्वर्ण त्रिकोणको पर्यटन प्याकेज प्रस्ताव गरिएको हो । लुम्बिनी, चितवन र पोखराका आ–आफ्नै विशेषता छन् । विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनी, विश्वकै दुर्लभ एक सिङ्गे गैँडा धेरै सङ्ख्यामा पाइने चितवन र हिमालको काखमा रहेको साहसिक पर्यटनको गन्तव्य पोखरालाई स्वर्ण त्रिकोणका रुपमा जोड्ने लक्ष्यअनुरुप अघिल्लो साता बोर्डका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीसहितको टोलीले चार दिने प्रवद्र्धनात्मक भ्रमण गरिसकेको छ ।
भ्रमणका क्रममा भइरहेका पर्यटकीय पूर्वाधार विकास, सम्भावना, चुनौतीलगायतका विषयमा अवलोकन तथा छलफलसमेत गरिएको थियो । पोखरा, चितवन र लुम्बिनी नेपाल घुम्ने जो कोहीले नछुटाउने गन्तव्यका रुपमा स्थापित भइसकेका छन् ।

यसरी सुरु हुनेछ स्वर्ण त्रिकोणको यात्रा
हवाई तथा स्थलमार्ग दुबैबाट जोडिएका यी तीनवटै स्थानको यात्रा जहाँबाट सुरु गर्दा पनि हुन्छ । सामान्यतः एक हप्ताको समय लिएर घुम्न निस्कँदा भारतको सिमासँग जोडिएको भैरहवाबाट सुरु गरेका अवस्थामा पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न सकिन्छ । भैरहवाबाट कुनैपनि सवारी साधनमार्फत पर्यटक लुम्बिनी पुग्न सक्छन् । आफ्नै निजी सवारीसाधन वा सार्वजनिक बसमार्फत लुम्बिनी पुगेका पर्यटक ई रिक्साको प्रयोग गरी पवित्र उद्यान लुम्बिनीको भ्रमण गर्न सक्छन् ।
लुम्बिनीमा बुद्धजन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, विभिन्न बौद्ध बिहार, केन्द्रीय नहरमा डुङ्गा सयर पश्चात् सारस र निलगाईको अवलोकन पनि गर्न सकिन्छ । त्यसैदिन बिहानको खाना खान तौलिहवा पुग्ने र त्यहाँ तिलौराकोट सङ्ग्रहालय, दरबार, गोटिहवा, कुदान, अरौराकोट, निग्लीहवा र जगदीशपुर तालमा अवलोकन पश्चात साँझ लुम्बिनी मायादेवी मन्दिरमा दीप प्रज्वलनको लागि आउन सकिन्छ । त्यस दिन साँझ लुम्बिनीमा बसाइँ भएपछि अर्को दिन बिहानको नास्ता खाएर पर्यटक रामग्राम पुग्न सक्छन् । बुद्धको अष्टधातु राखिएको एक मात्र ठाउँ रामग्रामको अवलोकन पश्चात देवदहमा खाना खाएर देवदह पन्डितपुर क्षेत्र भ्रमण गरी पर्यटक बुटवलको रामापिथेकश पार्क हेर्न जान्छन् ।
त्यसैदिन सिद्धबाबा हुँदै मनोरम पहाडी भूगोलको अवलोकन गर्दै पाल्पा रानीमहल अवलोकन गरी साँझ पहाडकी रानी भनेर परिचित तानसेनमा बास बस्न सकिन्छ । अर्को दिन बिहानै तानसेनमा बिहानाको खाजापछि टोली प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरी स्याङ्जाका विभिन्न क्षेत्रको अध्ययन अवलोकन गर्दै राम्दी वा वालिङमा खाना खाएर राति पोखरामा पुग्दछन् ।
चौँथो दिन बिहान सराङकोटमा सनराईज हेरेपश्चात खाजा खाएर अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, डेभिड फल्ससहित फेवा तालमा डुङ्गा शयर गर्न सक्दछन् । सोही दिन विन्ध्यवासिनी मन्दिरको दर्शन गरी साँझ फेवातालको बाराही घाटस्थित आरतीमा सहभागी बनी रात्रिकालीन लेकसाइडको दृश्यवलोकन गर्न सक्दछन् । भोलिपल्ट पोखराकै पुम्दीकोटमा निर्मित विशाल महादेवको मूर्ति, विश्वशान्ति स्तुपा आदिको अवलोकन गरी खाना खाएर पर्यटक पाँचौँं दिन चितवनका लागि यात्रा सुरु गर्न सक्दछन् । समय लम्ब्याउन चाहनेले लेखनाथ क्षेत्रका बेगनास, रुपालगायतका ताल पनि अवलोकन गर्न सक्दछन् । पोखरादेखि चितवनसम्मको यात्रामा पर्यटकले बाटोमा पर्ने अकलादेवी स्थान, व्यास जन्मभूमि आदिको स्थलगत अवलोकन गर्दै साँझ चितवन पुग्दछन् ।
चितवन पुगेपछि त्यहाँका मेघौलीलगायतका स्थानमा रहेका थारु होमस्टेमा थारु संस्कृतिमा आधारित कार्यक्रमका सहभागी बन्दै पर्यटक साँझको थारु समुदायले बनाउने परिकारको स्वाद लिन सक्छन् । अर्कोदिन बिहानै खाजा पश्चात् चरा अवलोकन गर्ने, दिउँसो जङ्गल यात्रामा हात्ती तथा जीपको यात्रा तय गर्न सकिनेछ । साँझ गोलाघाटमा सनसेट हेरिसकेपछि भोलिपल्ट बिहान चितवनको मदन भण्डारी पार्क, अम्ब्रेला स्ट्रिट आदिको अवलोकन गरी आ–आफ्नो गन्तव्य तर्फ जान सक्नेछन् ।

यात्राको प्याकेज समय र बजेट दुबै अनुसार पनि तय गर्न सकिनेछ । चाहे चितवन होस्, चाहे पोखरा, चाहे लुम्बिनी नै किन न होस्, हरेक ठाउँमा चार देखि ६ दिनसम्मको अलग प्याकेज पनि बनाउन सकिने पर्यटन व्यवसायी बताउँछन् । पोखरामा साहसी पर्यटन अन्तर्गत प्याराग्लाईडिङग, बञ्जिजम्प, जीपलाइन आदिको अनुभव गर्न सकिन्छ । पोखरामा अतिरिक्त समय हुने घान्द्रुक, धम्पुस, लेखनाथका बेगनास, रुपालगायतका ताल, माटेपानी गुम्बा आदिको पनि अवलोकन गर्न सक्दछन् ।
यसैगरी चितवनमा भरतपुर महानगरपालिकाभित्रका विभिन्न ३० पर्यटकीय गन्तव्यका अतिरिक्त चेपाङ गाउँ, गोही प्रजनन केन्द्र, हात्ती प्रजनन केन्द्र, थारु भिलेज टुर, मेघौली गाउँ भ्रमण र जाडो मौसममा राप्ती नदीको किनारामा क्याम्प फायर आदिको अवलोकन गर्न सक्दछन् । चितवनका पर्यटकीय सम्भावनालाई उजागर गर्दै भरतपुर नगरपालिकाले हालै छ रात सात दिनको टूर प्याकेज पनि सार्वजनिक गरेको छ । लुम्बिनीमा गैडहवा ताल, सैनामैना, मधवलियाको अष्ट्रिज फर्म, टिकुलीगढको गाई फार्म, बुटवलको फुलबारी, हिलपार्क, बनबाटिका, चिल्हीया पार्क, कुञ्जलापुर पार्क, छपियाको माछा रिर्सोट तथा भारतीय सीमासम्मको अवलोकन गर्न सकिन्छ ।
स्वर्ण त्रिकोण अन्तर्गतका यी तीनवटै गन्तव्यमा सामान्यदेखि पाँच तारेसम्मका होटल छन् । विदेशी पर्यटकका लागि क्यासीनो समेत छन् । सामान्य बसदेखि सुविधासम्पन्न बस, हवाईको सुविधा उपलब्ध छ । भैरहवा–चितवन, भैरहवा–पोखरा, पोखरा–चितवनबीच त्रिकोणात्मक हवाई सेवा पनि छ ।
के भन्छन्– सरोकारवाला
स्वर्ण त्रिकोण पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड गण्डकीको नेतृत्वमा लुम्बिनी प्रदेशको लुम्बिनी, बागमती प्रदेशको चितवन र गण्डकी प्रदेशको पोखरालाई जोडेर पर्यटनसम्बद्ध सङ्घ संस्थाको सहकार्यमा अभियान थालिएको पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले बताउनुभयो ।
“कोरोनाका कारण समस्यामा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बोर्डले स्वर्ण त्रिकोणको अवधारणाका साथ यी क्षेत्रको प्रवद्र्धनको प्रयास थालेको हो”, उहाँले भन्नुभयो । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी गण्डकी, लुम्बिनी र बागमती प्रदेशका मुख्य पर्यटकीय क्षेत्रलाई जोडेर तयार गरिएको स्वर्ण त्रिकोण पर्यटकीय प्याकेजले पर्यटन क्षेत्रमा नयाँ सञ्चारको विकास गरेको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद अधिकारी (सागर) ले बताउनुभयो । “स्वर्ण त्रिकोणले नेपाल प्रमुख तीन पर्यटकीय गन्तव्य लुम्बिनी, चितवन र पोखराका पर्यटन व्यवसायीबीच सहकार्य र एकताको विकास गर्ने तथा स्वदेशी एवं विदेशी पर्यटकको यात्रालाई स्मरणीय तथा सुविधा सम्पन्न गराउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

पोखरामा पर्यटकको बसाइँ लम्ब्याउनका लागि अन्य गतिविधि पनि थप्नुपर्ने नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । साहसिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा पोखराले पहिचान बनाएको बताउँदै उहाँले पोखरा र आसपासका पर्यटकीयस्थलको अवलोकनसँगै यहाँ पर्यटकलाई प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन, बञ्जिजम्प आदि गराउन सकिने उल्लेख गर्नुभयो । पर्यटकीय गतिविधिमा सहभागी नहुने पर्यटक पनि आफ्ना व्यस्तता आदिलाई बिर्सेर शान्तसँग पोखरामा रमाएर बस्ने गरेको उहाँको अनुभव छ । सुनाउनुभयो ।
स्वर्ण त्रिकोणको प्रवद्र्धनमा सहयोग पु¥याउन पत्रकार मञ्च
स्वर्ण त्रिकोणको समाचार सम्प्रेषणका माध्यमबाट प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘स्वर्ण त्रिकोण पत्रकार मञ्च’ गठन गरिएको छ । लुम्बिनी, पोखरा र चितवन तीनवटै क्षेत्रका पत्रकार सम्मिलित मञ्चको संयोजकमा दीपेन्द्र बडूवाल (लुम्बिनी), सहसंयोजकद्वयमा वासुदेव पौडेल (पोखरा) र शालिकराम नेपाल (चितवन) रहनुभएको छ भने सचिवमा नरेश केसी (लुम्बिनी) हुनुहुन्छ । नेपाल पर्यटन बोर्डको आयोजनामा अघिल्लो हप्ता आयोजित चार दिवसीय स्वर्ण त्रिकोण प्रवद्र्धनात्मक भ्रमणका अवसरमा पोखरामा मञ्च गठन गरिएको हो ।