
पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश जारी गर्दै गुरुङ समुदायले विशेष हर्षका साथ पुरानो गाई वर्गलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ बाघ वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउन लागेको उल्लेख गर्नुभएको छ । तमु जातिको नयाँ वर्षका रुपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
“ल्होसार पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै तमु जातिलगायत सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरित गर्न सकोस्”, शुभकामना सन्देशमा भनिएको छ ।