बिहानैबाट देशका धेरै स्थानमा हुस्सु र कुहिरो, गण्डकी प्रदेश र प्रदेश नं १ मा हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     १६ पुस २०७८ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभावले देशभर आंशिक बदली रही देशका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपातको संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।