नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

-


     मर्दी न्युज    
     १६ पुस २०७८ मा प्रकाशित


नयाँ दिल्ली, १६ पुस । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएको उनले बताए ।

अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तिब्र गतिमा यो फैलिएको छ उनले भने । रासस÷सिन्ह्वा