राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति

-


     मर्दी न्युज    
     १९ पुस २०७८ मा प्रकाशित


काठमाडौं । सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँटमा सहमति भएको छ ।

बैठकले नेपाली काँग्रेसलाई छ, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जनता समाजवादीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले आगामी माघ १२ गते निर्वाचन गर्ने मिति तोकेको छ ।

मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न कार्यतालिका छ । राष्ट्रियसभामा १९ सिट खाली हुँदैछ ।

१९ मध्ये ८ वटामा नेकपा एमाले र बाँकीमा गठबन्धन दलका सदस्यहरुको कार्यकाल सकिँदैछ । यसअघि जहाँबाट जुन दलका सदस्यको प्रतिनिधित्व थियो त्यही दलबाट उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले बताए ।

यसअघि एमालेले जितेका ठाउँमा भागबण्डा गर्दा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक–एक सिट पाउनेछन् ।
यद्यपि, राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्ष । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् ।