
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रमलाई सबै मन्त्रालयले विशेष जोड दिई कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिएका हुन्।
समृद्धि, विकास र सुशासनको लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिविद्धताको प्रभावकारी कार्यसम्पादन गर्न विशेष निर्देशन दिएका प्रधानमन्त्री देउवाले जनताले सरकारबाट अभिभावकत्वको अनुभव प्राप्त हुने खालको सेवा प्रवाह गर्नसमेत निर्देशन दिएका छन् ।
साथै विकास आयोजनाहरूको समयमै निर्माण तथा सञ्चालन गर्दै पुँजीगत खर्चमा वृद्धि गर्न भनेका देउवाले लगानी आकर्षण गर्न तथा आर्थिक र शासकीय सुधारका लागि सार्वजनिक निजी सहकार्यका लागि पनि निर्देशन दिएका छन् ।
सरकार जनताको अभिभावक रहेकोले जनतालाई सेवा सुविधा उपलब्ध गराउँदै डेलिभरीमा खरो उत्रिन भनेका प्रधानमन्त्री देउवाले कोभिड–१९ पछिको अर्थतन्त्रको पुनरुत्थान, पुनः संरचना र पुनरुद्धारको लागि एकीकृत राष्ट्रिय रणनीति र कार्य योजना बनाई कार्यान्वयनमा ल्याउन भनेका छन् ।
कार्यक्रममा अर्थमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिव शंकर दाश वैरागीले आफ्नो मन्तव्य राखेका थिए ।