बगर भाइखलक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २६ टिम सहभागी हुने

-


     मर्दी न्युज    
     २२ पुस २०७८ मा प्रकाशित


पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ नाराका साथ यही पुस २६ गतेबाट पोखरामा सञ्चालन हुने पाँचौं रञ्जित गुरुङ स्मृति तथा ११ औं बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगितामा २६ टिम सहभागी हुने आयोजकले जनाएको छ । आयोजक बगर भाइ खलकले आज एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जनाएको हो ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, वीरगन्ज, हेटौंडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानीय टिमले प्रतिस्पर्धा गर्ने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ सालदेखि ४० बर्ष देखि ६५ बर्षको उमेर समूहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ ।

२०६८ सालदेखि पूर्व खेलाडीहरुलाई सम्मान गर्दै आइरहेकोमा यसवर्ष पूर्व राष्ट्रिय फुटबल खेलाडी एवम् शिक्षाविद् महेश गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । पूर्व राष्ट्रिय फुटबल खेलाडी, सहारा क्लबका मानार्थ सदस्य, नेपाल भूपू खेलाडी मञ्च नेपालका सल्लाहकार, शिक्षाविद् एवं खेलकर्मी गुरुङलाई ताम्रपत्र एवं दोसल्लासहित सम्मान गरिने उनले बताए ।

प्रतियोगीतामा उपाधि विजेताले रनिङ सिल्डसहित नगद एक लाख ५१ हजार १११, द्वितीयले नगद रु. ७५ हजार ५५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । विगतका वर्षमा झैं यसवर्ष पनि सहारा युकेले द्वितीय पुरस्कारको प्रायोजन गरेको छ ।

यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद पाँच हजार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने छ ।

यसैगरी अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा ज्येष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई विशेष पुरस्कार प्रदान गरिने छ ।

पोखराको ऐतिहासिक पुरानो टुँडिखेलमा हुने प्रतियोगिताका लागि २० लाख खर्च र २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिव याम गुरुङले जानकारी दिए ।