जापानमा शुक्रबार ६२१४ जना कोरोना संक्रमित, तीन प्रान्तमा अर्ध- आपतकाल

-


     सन थापा    
     २३ पुस २०७८ मा प्रकाशित


जापान, २३ पुस (जनवरी ७) । जापानमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएपछि सरकारले प्रान्त अर्धआपतकाल जारी गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले भने ” हामीले, हिरोसीमा, यामागुची र ओकिनावा प्रान्तमा संक्रमण फैलन नदिन अर्ध आपतकाल लागू गर्ने निर्णय गरेका छौ, यो जनवरी ९ देखि ३१ सम्म रहनेछ ।“ सञ्चार संस्था एनएचकेले जनाएको छ ।

शुक्रबार ६ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै एक जनाको मृत्यु भएको छ । गतवर्ष सेप्टेम्बर १५ पछिको धेरै संख्यामा संक्रमित भएको हो । आकिता प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमित थपिएकोमा १२ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी ओकिनावामा १ हजार ४ सय १४, टोकियोमा ९ सय २१, ओसाकामा ६ सय ७६, हिरोसीमामा ४ सय २९, खानागावामा २ सय ५१, साईतामामा २ सय १४, यामागुचीमा १ सय ८०, आइचीमा १ सय ९९, क्योतोमा १ सय ६०, चिबामा १ सय ७१ र ह्योगोमा १ सय ४४ जना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ५० हजार ७ सय तीनजना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय १२ जना पुगेको छ । संक्रमितमध्ये ९१ जनाको अवस्था गम्भीर रहेको छ भने १० हजार २० जनाको उपचार भइरहेको छ ।

१७ लाख १४ हजार २ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । बुधबार ४४ हजार ६ सय ६६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।