कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

-


     मर्दी न्युज    
     २३ पुस २०७८ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएको हो । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।

यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ । तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । उनले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।

“भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्दछ”, उहनले भने, “परीक्षण गर्दा सङ्क्रमण भेटिए आइसोलेशन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्दछ ।”

प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिए । उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिनका लागि अस्पतालमा अक्सिजन र शैय्याको व्यवस्थापन गर्नुपर्ने बताए । नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । “अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न”, उनले भने, “त्यसैले सबै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्दछ ।”