
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक देखि सामान्य बदली रहेको छ । तराईका केहि भूभागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।
यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।
यस्तै राति पनि सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।