
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
यो बीचमा उनको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।
पुस २५ गते हुने भनिएको केन्द्रीय समितिको बैठक माघ ८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि
यस्तै, साेही पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’ उनले सामाजिक सञ्जालमा जानकारी दिएको हो ।