स्की महोत्सव मर्दी हिमाल क्षेत्रमै किन ?

-


     शेषकान्त शर्मा    
     २४ पुस २०७८ मा प्रकाशित


पोखरा । साहसिक पर्वतीय पर्यटनका विभिन्न बिधाहरुमध्ये स्की (हिउँ चिप्लेटी) लोकप्रिय छ। युरोपको आल्पस पर्वत शृङ्खलाले छोएका मुख्यगरी स्विट्जरल्याण्ड, फ्रान्स , अष्ट्रीयाका साथसाथै उत्तर अमेरिकाको क्यानाडा, संयुक्त राज्य अमेरिका स्की खेलको लागि बिश्व चर्चित छन। त्यसैगरी न्युजिल्यान्ड र जापान पनि अग्रणी गन्तव्यमा पर्दछन।

बिदेशी पर्वतारोहीहरुले नेपालका हिमालमा पर्वतारोहणको दौरान शोखको रूपमा धेरै अगाडिबाट स्की खेल खेल्ने गरेको उनिहरुको डायरी तथा ट्राभल जर्नलहरुमा पढ्न पाइन्छ। नेपालमा औपचारिक रूपमा स्की खेलको सुरुवात कहिले भयो भन्ने बारेमा आधिकारिक रेकर्ड नभेटिए पनि सन २०११ देखि बृटिस सेनामा कार्यरत कृष्ण थापा मगरको पहलमा हरेक बर्ष स्की महोत्सव हुने गरेको स्की खेलमा सन २०११ देखि २०१६ सम्म प्रत्येक पटक भागलिएका प्रशिक्षार्थी तथा पर्यटन मजदुर संगठन निटोगका अध्यक्ष रामकाजी तिवारी “प्रयास” ले बताए। सन २०१५ मा थापा मगरले नै हिमालयन स्की ट्रेक नामक कम्पनी दर्ता गरेर व्यावसायिक रूपमानै स्की खेलाउन थालेको र महोत्सवको आयोजना गर्ने गरेको बुझिएको छ। नेपाल पर्वतीय प्रतिष्ठानले भर्खरै मात्रै नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको संयुक्त आयोजनामा स्की लेवल एकको प्रशिक्षण कार्यक्रम दोलखा जिल्लाको कालिन्चोकमा सम्पन्न गरेको नेपाल पर्वतारोहण संघका बोर्ड सदस्य तथा आईएफएमजिए गाइड तुलसी गुरुङले बताए।

यस पटकको संस्करण भने दिगो हिमालयन कोषको आयोजनामा तथा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको समन्वयमा मर्दी आधार शिविरमा यही फेब्रुअरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म विन्टर स्की महोत्सव गर्न लागिएको छ। यस क्षेत्रको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्न , पर्यटकहरुको बसाई लम्ब्याउन, युवाहरूलाई आकर्षित गर्न यस्तो महोत्सव हुनु अत्यन्तै स्वागतयोग्य कुरा हो। यसमा स्थानीय जनता, पर्यटन ब्यबसायीहरु, पर्यटन श्रमिकहरुले सहयोग र हौसला बढाउन जरुरी देखिन्छ।

मर्दी हिमालमा स्की खेलको लागि उपयुक्त टेरेयन( ठिकैको भिरालो पाटा मिलेको हिउँ मैदान ) र उच्च स्तरको मैदा जस्तो हिउँ (पाउडर स्नो) हुने, अतिथिहरुको लागि आवास तथा खानपिनको कुनै समस्या नहुने र पोखराबाट पुग्न तथा फर्किन सजिलो ठाउँ भएकोले आयोजकहरुले यो स्थल रोजेको समाजसेवी तथा पर्यटन ब्यबसायी सुदिप गौतमले मर्दी न्युजलाई बताए।