पोखरा उपत्यकामा जलपंछी गणना गरिदैं

-


     शेषकान्त शर्मा    
     २५ पुस २०७८ मा प्रकाशित


पोखरा । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम यस वर्ष पनि नेपालभर गरिँदै छ । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएकोमा यस बर्ष पुस २७ र २८ गते (जनवरी ११ र १२ तारिख) मा गरिने भएको छ ।

प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सङ्घ संस्थाको सहभागिता हुने गर्दछ ।

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।

यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिँदै छ । त्यसै गरि पोखरा उपत्यकामा पुस ११ गते बाट जलपंछी गणना गरिने भएको बताउनु हुन्छ पोखरा पंछी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरे ।

दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केहि पथ प्रर्दशकहरु, नेपाल पंछी संरक्षण संघ-पोखरा र पछिल्लो समयमा पोखरा पंछी समाजको संलग्नमा गर्दै आएको छ ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपंछी गणना कार्यक्रम गरिने टाइगर माउण्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिनुभयो ।

यसबर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पंछी संरक्षण संघ-पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताउनु भयो ।

हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरे बताउनुहुन्छ ।