
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आज (आइतबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।
माघ १२ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न वितरण गरिएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।
आयोगले नेपाली काँग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।
त्यसै गरी राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस) बाट लागू हुने आयोगले जनाएको छ ।