कोरोनाका कारण पोखरा महोत्सव स्थगित

-


     मर्दी न्युज    
     २६ पुस २०७८ मा प्रकाशित


पोखरा । पोखराको अमरसिंह चौरमा आयोजना हुने भनिएको एघारौं पोखरा महोत्सव स्थगित भएको छ ।

पोखरा युनाइटेड क्लबको आयोजनामा यही पुस २८ गतेदेखि माघको ९ गतेसम्म पोखराको अमरसिंहचौमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्म स्थगित भएको क्लबले सोमवार विज्ञप्ति जारी गर्दै स्थगित गरेको जनाएको हो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठद्वारा जारी गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने क्लबको उद्देश्य रहेकाले जनस्वास्थ्यप्रति उत्तरदायित्व वहन गर्नु क्लबको कर्तव्य रहेको बताउँदै कोरोनाका कारण नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले सो निर्णयलाई पूर्ण रुपमा पालना गर्दै एघारौं संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

क्लबले आइतबार मात्र पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । आयोजक क्लबले महोत्सव स्थलमा स्टल समेत बनाइसकेको छ भने प्रचारप्रसारलाई तीब्र बनाएको थियो ।

क्लबले महोत्सवमा बुक गरिसकेका स्टल व्यवसायीहरुलाई अर्को सूचना जारी भएपछि पुनः सोही स्टल उपलब्ध गराउनेसमेत जनाएको छ । क्लबले महोत्सव स्थगित गरिएतापनि युनाईटेड क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रबद्र्धन, सेती नदी संरक्षण विपत व्यवस्थापनमा गर्दै आएको कामलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ ।