सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको भेला रोक्ने गृह मन्त्रालयको निर्णय

-


     मर्दी न्युज    
     २६ पुस २०७८ मा प्रकाशित


काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो ।

‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने, गृह मन्त्रालयको निर्णयमा भनिएको छ, ‘जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।’

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ । कोभिड (१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतबार उक्त निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ ।