मनोरञ्जनात्मक गतिविधिका लागि पालिएका कालो चिलको उद्दार

-


     मर्दी न्युज    
     २७ पुस २०७८ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं २२, पुम्दिकोट, विशाल शिवमुर्ती नजिकै मनोरञ्जनात्मक कार्य तथा सोखको लागी पैसा तिरेर काँध तथा पाखुरामा राखेर फोटो खिचाउने गरिएको कालो चिलको पोखरा पंछी समाजको समन्वयमा डिभिजन बन कार्यालय कास्कीले आज उद्दार गरिएको छ ।

डिभिजन बन कार्यालयकि सहायक बन अधिकृत माधुरी खड्काको नेतृत्वमा उक्त स्थानमै पुगेर चिलको उद्दार गरि बेगनासताल नजिकै रहेको पोखरा जुलोजिकल पार्क तथा बन्यजन्तु उद्दार केन्द्र पचभैयामा उपचारका लागि हस्तान्तरण गरिएको हो ।

स्मरण रहोस, एउटा चीलसंग फोटो फोटो खिचेको रु ५० र दुईवटा चीलसंग फोटो खिचेको रु १०० लिने गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऎन अनुसार यसरी अबैध काम गरेमा प्रजाती अनुसार पन्ध्र हजार रुपैयाँदेखि पचास हजार रुपैयाँ जरिवाना र प्रकृति हेरि ६ महिनासम्म कैद हुने प्रावधान रहेको छ ।

विभिन्न समयमा यसरी उद्दार गरिएका पंछी तथा बन्यजन्तुको आबस्यक रेखदेख तथा उपचार गरेपछि प्राकृतिक बासस्थानमा नै छोडिने डिभिजन बन कार्यालयका कार्यालय प्रमुख केदार बरालले बताए ।